ताजा अपडेट
कांग्रेसमा नेताकै जोडबलमा उम्मेदवार
लामो रस्साकस्सी पछि दलहरुले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गराएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको विधानबमोजिम छ महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार केन्द्रबाट छान्यो, बाँकी प्रदेश र जिल्लाले उम्मेदवारको टुंगो लगाए । तर, उम्मेदवार चयनमा पार्टीका नेताहरु नै हाबी देखिएका छन् ।
उम्मेदवार चयनमा नेताहरुले केन्द्रदेखि जिल्लासम्मै भागबण्डा गरे । नेताहरुको ध्यान स्थानीय तहको आवश्यकता र सम्भावनासँग मिल्दो व्यक्तिलाई उम्मेदवार बनाउने भन्दापनि आफ्नो गुटको नेता, नातेदार र आज्ञापालकलाई पदमा पुर्याउने र शक्ति आर्जन गर्नेमा केन्द्रित रह्यो ।
कांग्रेसले छ महानगरपालिकामा केन्द्रबाटै भागबण्डा गरेर उम्मेदवार चयन गरेको छ । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर तथा भरतपुर, वीरगञ्ज र पोखरा महानगरपालिकाको उपमेयर परेको थियो । कांग्रेसले काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइरालालाई मेयर पदको उम्मेदवार बनाएको छ भने भरतपुरमा चित्रसेन अधिकारी, वीरगञ्जमा इम्तियाज आलम र पोखरामा कोपिला रानाभाटलाई उपमेयर पदमा उम्मेदवार बनाएको छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति सन्तुलनलाई हेरेर पदको बाँडफाँट गरेका छन् । उम्मेदवार भएकामध्ये ललितपुरका मेयर उम्मेदवार महर्जन र वीरगञ्जका उपमेयर इम्तियाज आलममात्रै सभापति देउवानिकट हुन् । पार्टीको महाधिवेशनमा संस्थापन इत्तर समूहबाट महानगर सभापति बनेका भरतपुरका उपमेयर उम्मेदवार अधिकारीलाई पनि देउवाले नै टिकट दिएका हुन् ।
नेताहरुले अधिकारी उम्मेदवार बन्नुमा भरतपुरको चुनावी तालमेलमा उनको भूमिकासँग जोडेर हेरेका छन् । त्यसबाहेक विराटनगरका मेयर उम्मेदवार कोइराला र भरतपुरका उपमेयर उम्मेदवार अधिकारी कोइराला समूहका नेता हुन् । पोखराकी उपमेयर उम्मेदवार रानाभाट भने वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट छिन् ।
मेयर पाएका तीन महानगरमध्ये देउवाको बलियो प्रभाव ललितपुरमा मात्रै छ । ललितपुरमा केन्द्रीय सदस्यद्वय उदय शमशेर र मदन अमात्यको प्रभावका कारण देउवा शक्तिशाली छन् । यसअघि पनि मेयरमा निर्वाचित महर्जन आफैँ देउवाका प्रिय पात्र हुन् । ललितपुरबाट मेयरका लागि नौ जनाको नाम सिफारिस भएपनि नेताहरुबीच चिरिबाबु र प्रेमकृष्ण महर्जनमध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा मतभेद भएको थियो । तर, अन्तिममा देउवाले चिरिबाबुलाई रोजे । ललितपुरको मेयरका लागि महर्जनद्वयबाहेक नगर सभापति शुभानन धाख्वा, हालकी उपमेयर गीता सत्याल, नेताहरू भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठले दाबी गरेका थिए ।
नेताहरुबीच सबैभन्दा सहज व्यवस्थापन भएकी उम्मेदवार हुन्, काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंह । सभापति देउवाले १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहले लगाएको गुन तिर्दा सिर्जनालाई महानगरको मेयर पदको टिकट पाउन सहज भयो । महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका सिंहले दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई सघाएका थिए । महाधिवेशनपछि सिंहले आफ्नी श्रीमतीलाई महानगरको मेयर उठाउने चाहना राख्दा देउवाले काट्न नसकेको नेताहरू बताउँछन् । त्यसो त सिर्जना आफैँ पनि वितगमा सक्रिय राजनीतिमा थिइन् ।
०३३ सालमै कांग्रेसको सदस्यता लिएकी सिर्जनाले ०४२ सालमा प्रकाशमानसँग विहे गरिन् । जबकि त्योभन्दा अगावै उनी गोरखा महिला संघको सभापति भएर काम गरिसकेकी थिइन् । विद्यार्थीकालमा उनी शंकरदेव कलेजमा स्ववियुको कोषाध्यक्ष थिइन् । ‘उहाँ राजनीतिक चेत भएको मान्छे हो । पहिले पार्टीमै काम गरेको मान्छे पनि हो,’ एक नेता भन्छन्, ‘तर त्यतिले मात्रै उहाँले टिकट पाएको चाँहि होइन, त्यो विरासत र प्रकाशमान सिंहको जोडबल नै मुख्यकारण हुन् ।’
काठमाडौंमा सुरुमा पुर्वमन्त्री तीर्थराम डंगोलदेखि भीमसेनदास प्रधानसम्मले मेयरकालागि आकांक्षा राखे । तर, सिर्जना सिंहको चर्चा सुरू भएपछि उनीहरू आफैँ पछि हटे । महानगर समितिले सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार प्रकाशमानले सिर्जनालाई अघि सारेको थाहा पाएपछि सभापति देउवाले सहजै स्वीकार गरेका थिए । मेयरकालागि सिर्जना अघि बढेपछि काठमाडौं कांग्रेसमा कुनै विवाद बिनै सिर्जना सिंह उम्मेदवार बनेकी छिन् । ‘महानगर समितिमा मात्रै होइन, क्षेत्र र जिल्लामा पनि सबै प्रकाशमानजीको पकड छ, त्यहाँ उहाँले बोलेपछि अरुले विरोध गर्ने कुरै भएन,’ ती नेताले भने ।
काठमाडौंमा प्रकाशमानकै जस्तै नेता शेखर कोइरालाको जोडबल रहृयो, नागेश कोइरालालई विराटनगरको मेयर उम्मेदवार बनाउन । उम्मेदवार चयनका बेला सबैभन्दा धेरै रस्साकस्सी पनि विराटनगरकै विषयमा भएको थियो । सभापति देउवाले आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याललाई मेयर उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।
नेता कृष्णप्रसाद सिटौलाको प्रस्ताव आफूनिकट भीम पराजुलीलाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने थियो । त्यसबाहेक संघीय सांसद् एवम् केन्द्रीय सदस्य डिला संग्रौला, प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी, हालकी उपमेयर इन्दिरा कार्की र महानगर सभापति दिपक चापागाई समेत मेयरका आकांक्षी थिए । तर, कोइरालाको अडान र जोडबलले नै नागेश विराटनगरको मेयर उम्मेदवार बनेका छन् । नागेश हाल कांग्रेस जिल्ला उपसभापति छन् ।
कतिपयले नागेशलाई शेखरले कोइराला परिवारको विरासत थाम्ने नेतृत्वकारुपमा अघि बढाउन चाहेको समेत भनेका छन् । मेयरका उम्मेदवार बनेका कोइराला कांग्रेस विभाजनका बेला देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा थिए । त्यो बेला उनी तरुण दलको जिल्ला सभापति भए । पछि पार्टी एकतापछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाकै चाहनाबमोजिम नागेश तरुण दलको मोरङ सभापति भएका थिए ।
त्यसयता सक्रिय राजनीतिमा रहेका उनी कांग्रेसको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै अहिले लोकप्रिय मतसहित जिल्ला उपसभापति बनेका हुन् । त्यसो त नागेशको कांग्रेसको प्रदेश कार्यसमितिको सिफारिसमै थिएन । महानगरबाट एक नम्बरमा नाम सिफारिस भएपनि प्रदेश समितिले अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीको नाम मात्रै केन्द्रलाई सिफारिस गरी पठाएको थियो । प्रदेशबाट सिफारिस नै नभएको भन्दै देउवाले नागेशको सट्टा अर्याललाई उम्मेदवार बनाउन चाहेका थिए ।
महानगरको मेयरमात्रै होइन, उपमेयरमा पनि त्यस्तै गरी टिकट वितरण भएको नेताहरू बताउँछन् । ‘जसलाई ठूलो नेताले साथ दिन्छ, उसले टिकट पाउँछ, अब पैसा र पहुँच नभए पार्टीको राजनीति गर्छु भनेर नसोचे पनि हुने अवस्था छ,’ टिकट नपाएका एक नेताले गुनासो छ ।
कांग्रेस नेता एवम् लेखक लोकेश ढकाल कांग्रेसको टिकट वितरणमा नेताहरू हाबी भएको बताउँछन् । ‘महानगरको हकमा मात्रै होइन, यो त नगरपालिका र गाउँपालिकामा झन् धेरै देखियो, लोकतन्त्रमा नेतातन्त्र हाबी हुने कुरा अत्यन्तै दुःखद् छ,’ उनले भने । ढकालले नेपाली राजनीतिमा नेताको आडमा राजनीति गर्ने र शक्तिमा पुग्ने प्रवृत्ति रोग नै बनेको टिप्पणी गरे ।
‘लोकतन्त्रमा दलको आन्तरिक लोकतन्त्र पनि बलियो हुनुपर्छ । त्यसले मात्रै लोकतन्त्र संमृद्ध बन्ने हो । तर, यस्तो अवस्था हामी कहाँ कल्पनामा मात्रै छ,’ उनले भने, ‘जसको पहुँच छ, उसैले टिकट पाउने अवस्था छ । दलहरू पारदर्शी छैनन् । इमान्दार मान्छेभन्दा पैसा र पहुँचको आधारमा शक्ति आर्जन गर्ने अभ्यास बढेको छ ।’
प्रतिक्रिया