ताजा अपडेट
गौराः यस्तो छ डोटेली लोकपर्वको महिमा !
सुदूरपश्चिम प्रदेशको ठूला चाडपर्वमध्ये गौरा पर्व पनि एक हो । कर्णाली प्रदेशका केही ठाउँमा पनि गौरा मनाउने गरेको पाइन्छ । गौरा देवी पार्वती (पर्वतीकी छोरी)को रूप हो । उनै देवीको नामबाट गौरा पर्व भन्ने नाम रहन गयो ।
नेपालको सुदूरपश्चिम र त्यसनजिकका भारतीय भूभागमा समेत यो पर्व मनाउँदै आएको पाइन्छ । यो पर्वका अवसरमा आज पनि यो भूगोलका महिलाहरू आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य एवं चिरस्थायी सम्बन्धका लागि कामना गर्छन् ।
देवी पार्वतीले भगवान् शिवलाई प्राप्त गर्न तपस्या गरेको पौराणिक घटनाबाट यो पर्व मनाउन सुरु गरिएको लोकमान्यता छ । यो पर्व नेपालमा मात्र नभई भारतको उत्तराञ्चल, उत्तर प्रदेशदेखि लिएर दक्षिण भारतको महाराष्ट्र, तमिलनाडु, केरलामा पनि ठाउँ र रीतिअनुसार आ–आफ्नै ढंगले मनाइन्छ । नेपाललगायत भारतको उत्तराञ्चल र उत्तर प्रदेशमा यसलाई गौराकै नाममा मनाइन्छ भने दक्षिण भारतमा यसलाई गणपति पर्वको नाममा विविध धार्मिक पूजाआजा र आध्यात्मिक कार्यक्रमका साथ मनाइन्छ ।
यो चाड भदाै पञ्चमीदेखि सुरु हुन्छ जसलाई स्थानी भाषामा विरुडा पञ्चमी भनिन्छ । पञ्चमीको दिन बिहानै उठी नुहाएर विरुडा (क्वाटी) जसमा मास, गुरास, केराउ, गहत, र गहुँ (पञ्च अन्नलगायत समावेश गरिएको) लाई स्थानीय न्वालो (कुवा), पँधेरोको पानीले भिजाइन्छ । त्यही दिन न्वालोमा गौराको प्रतिरूप स्थापना गरिन्छ । यसलाई न्वालाको गौरा पनि भनिन्छ । भाद्र सप्तमीका दिन चेलीबेटीहरूद्वारा पुतला (गौरी)लाई गाउँका मुखियाको तोकिएको खेतबाट सावाँ, धान, दुबाे, गुबाे, मुथो गरी पाँचथरीका बोट जरैदेखि उखेलेर गौरा देवीको प्रतिमाका लागि बेतबाँसबाट बनेको डालोमा राखी मुखियाको घरमा लैजाने गरिन्छ ।
पुरानो चलनअनुसार गाउँमा महत्वपूर्ण जिम्मेवारी दिएकामध्ये मुखियाको घरलाई धर्मावलम्बीहरूले ‘गौरा घर’ पनि भन्ने गर्दछन् । मुखियाको महिला घरमूलीलाई गौराको आमा पनि भनिन्छ । तर, बसाइँसराइ भएर अर्को ठाउँमा यो पर्वको सुरुवात गर्दा मुखियाको घरमा मात्र गर्ने प्रचलन हटेको छ । त्यो दिन महिलाहरू दिनभर व्रत बसेर बेलुका सिंदुर, पोते, डोरी, गुन्यौ, चोलो, फरिया, दुबधागो (धागोपोते) आदिले सिंगारी पूजाअर्चना गरी ब्राह्मणलाई दान गरेर मात्र खाना खान्छन् । यस दिन व्रतधारी महिलाले घाँटीमा दुबधागो लगाउनैपर्ने हुन्छ । दुबधागो रातो, पहेँलो, कालो, हरियो, सेतो गरी पञ्च रंगको धागोबाट बनेको हुन्छ । यसलाई पुरुषले जनै लगाएजस्तै गरी महिलाहरूले घाँटीमा रंगीन पोतेको रूपमा लगाउँछन् ।
भोलिपल्ट गौरा देवीको सञ्जा (सौता)लाई खेतबाट ल्याएर घरमा भित्र्याइन्छ । त्यसपछि सञ्जा र घरमा राखेको प्रतिमूर्ति पुतला दुवैलाई एउटै गौरामा विलय गरी ब्राह्मणको उपस्थितिमा गौरा देवीको विशेष प्रतिमा बनाइन्छ । त्यही दिन गौरा देवी र महेश्वर (शिव) लाई लगनगाँठोले सम्बन्ध स्थापना गरी वैदिक रितपूर्वक पूजापाठ गरिन्छ । महेश्वरको प्रतिमूर्तिको रूपमा एउटा ढुंगा वा काठबाट निर्मित हुन्छ ।
गौरा उपासकका लागि यस पर्वको सबैभन्दा महत्वपूर्ण दिन अष्टमी हो । स्थानीय भाषामा कतैकतै यसलाई अठेबाली पनि भनिन्छ । यो दिन व्रतधारी महिलाले बिहानै गौराखलो (गौरा पूजन गर्दै नाचगान गर्ने गौरास्थल)मा गौरी र शिवको प्रतिमूर्तिलाई लगी दिनभरि देवी–देवतालाई मुग्ध पार्ने फाग (गीत) गाएर एवं बिरुडा, फल, फूलपाती, अक्षता चढाएर पूजाआजा गर्दछन् । बेलुकी गौरादेवीको प्रतिमालाई एकजना व्रतधारी महिलाले शिरमा बोकी अगाडि–अगाडि र अर्की व्रतधारी महिलाले महेश्वरको प्रतिमूर्तिलाई शिरमा राखी पछाडि नाचगान गरिन्छ । त्यसपछि सबै व्रतधारी महिलाले गोलाकार लाम बनी स्थानीय लोकलयमा गीत गाउने र नाच्ने गर्दछन्र । यो कार्य व्रतधारी सबै महिलाले क्रमैसँग गर्दछन् भने कसैले टाउकोले छोएर मात्र भए पनि विधि पुऱ्याउने गर्छन् ।
अन्तिम विधिका रूपमा दिनभरि गौरी पूजनमा चढाइएका फलफूल र अक्षता आदि तन्ना वा ठूलो ओड्ने कपडामा राखी पाँचपटक आकाशतिर र चारै दिशातर्फ हुऱ्याइन्छ जसलाई फल फट्काउने भनिन्छ । त्यसबखत प्रत्येक व्रतधारी महिलाले फल पाउने आशामा पछ्यौरी, रुमाल, पोल्टो आदि थापेका हुन्छन । राम्रो फल प्राप्त भएकालाई वर्षभरि शुभ हुने मान्यता रहेकोले सबैले प्रसाद पाउने आशा राखेका हुन्छन् । प्रथमपटकका उपासक नवदुलही तथा पुत्र नभएकाहरूको हातमा राम्रो फल परे पुत्रलाभलगायत मनोकामना पूरा हुने शुभलक्षणका रूपमा समेत लिइने पुरानो मान्यता रहेको छ । अन्त्यमा स्थानीय देवी–देवतामा बिन्तीभाउ गरी सुख–समृद्धिको कामना गर्दै गौरा देवीको बिदाइ गरिन्छ ।
यसरी गौरालाई पाँचदेखि ११ दिनसम्म त्यही गौराघरमा राखेर अन्तिम दिन गौरालाई विसर्जन गरिन्छ । अन्तिम दिनसम्म गौरा राखेको घरको गाडि विभिन्न लयका देउडा गीतहरू गाउँदै नाचिन्छ । यस अवसरमा गाइने देउडा, खेल, ठाडी भाका, फागजस्ता गीतहरू गाएर रमाइलो गरिन्छ । ती गीतहरूबाट रमाइलो लिने मात्र नभई यसमा पौराणिक देवीदेवता, राजारजौटा र महाभारत, रामायण, कृष्णलीलाजस्ता कथाहरूको आधारमा गीतहरू बनाएका हुन्छन् । यी देउडा गीतहरूबाट इतिहास सम्झाउने गरेको पाइन्छ ।
सुदूरपश्चिमेलीहरूले यो पर्वलाई दशैँपछिको सबैभन्दा ठूलो चाडको रूपमा मनाउँछन् । यस पर्वको अवसरमा मानिसहरू नयाँ पोसाकहरू लगाउने, मीठा परिकारहरू खाने र आफन्तहरू भेला भएर रमाइलो गर्ने चलन छ । घरभन्दा बाहिर भएका आफन्तहरू यस पर्वको महत्वलाई बुझेर गाउँ फर्कने गर्दछन् । चेलिबेटी र इष्टमित्रलाई प्रसादको रूपमा बिरुडा वितरण गर्ने चलन छ ।
यस चाडको सन्दर्भमा किनमेल र मिठा परिकारहरू तयार गर्नुपर्ने हुँदा गरिबहरूका लागि यो पर्व एउटा बोझको रूपमा पनि छ । पैसा नहुने मानिस राम्रो लुगा खरिद गर्न र मिठा परिकारका लागि सामग्री जुटाउन सक्दैनन् । यस चाडको मौसममा अन्न भित्र्याउने काम भइसकेको हुँदैन । त्यसैले गरिबहरूका लागि यो समयमा आफ्नो सामान्य जीविकोपार्जन गर्नसमेत धौधौ परिरहेको हुन्छ । यसले गरिब जनतालाई अभावको वेला झन् बोझ बनाइदिने गर्दछ । यस तथ्यलाई मध्यनजर गर्दा कैयौँ सकारात्मक पक्षहरूको अलावा यस गौरा पर्वले केही सामाजिक समस्या र कुरीतिहरूलाई पनि जन्म दिएको देखिन्छ ।
०४६ सालको परिवर्तन र ०६३ को राजनीतिक परिवर्तनपछि राजधानीमा बसाइँसराइ वृद्धि भएसँगै सुदूरपश्चिमी जनताले पनि काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक मन्दिर तथा चौरमा देउडा खेलेर गौरा पर्व मनाउँदै आएका छन् । यसमा वरिष्ठ राजनीतिक तथा विभिन्न पेसागत व्यक्तित्वदेखि यहाँ बसेर पढिरहेका युवा वर्गको पनि उत्तिकै सहभागिता रहने गरेको छ ।
पश्चिमी नेपालीको संस्था प्रशंसा समूह केन्द्र, समाज सम्पर्क मञ्चलगायतका सुदूरपश्चिमका विभिन्न सामाजिक संस्थाले विगत केही वर्षदेखि सबैलाई भेला गराएर एउटा प्रशंसनीय कार्य गरेको मान्नुपर्दछ । यो पर्वलाई काठमाडौंमा रहेकाहरूले देउडा गीतमा नाचेर मात्रै मनाउने गरेको पाइन्छ । हुन त केही नहुनुभन्दा स्मरण गरेर नै भए पनि पर्व मनाउनु राम्रो कुरा हो । तैपनि यसको प्रभावकारी प्रचारप्रसार गर्ने नै हो भने उपत्यकाभित्र एउटा गौरा (पार्वती) को मन्दिर बनाउनु आवश्यक छ । जसले गर्दा एकातिर राजधानीमा पनि सुदूरपश्चिमेलीको संस्कृतिको संरक्षण र विकास हुन मद्दत पुग्ने थियो । अर्कोतिर यहाँ काम, राजनीति र पेसाको कारण अल्झिन बाध्य भएका मानिसलाई यस पर्वको वेला पूजापाठ गर्न सजिलो हुने थियो ।
यसरी एकातिर गौरा पर्वको प्रचारप्रसारमा पहिलाभन्दा अहिले निकै प्रभावकारिता आएको देखिन्छ । मुलुक प्रादेशिक संरचनामा गएपछि सुदूरपश्चिम प्रदेश र स्थानीय तहहरूले निर्णय गरी सार्वजनिक बिदा दिने गरेका छन् भने संघीय सरकारले पनि क्षेत्रगत बसोवास गर्ने कर्मचारीलाई बिदा दिने व्यवस्था गरी यसको महत्वलाई बढाएको देखिन्छ ।
तर, अर्कोतिर यसको संरक्षण र विकासका लागि त्यतिसाह्राे कसैको ध्यान गएको देखिँदैन । खासगरी यस पर्वको मर्मलाई जनस्तरसम्म पुऱ्याउनका लागि प्रत्येक गाउँमा गौरीको प्रतिमूर्तिलाई गाउँको मुखिया वा कसैको घरमा मात्र नराखी एउटा छुट्टै गौरा मन्दिरको निर्माण हुनुपर्दछ । जसले गर्दा यस पर्वमा गाउँको मुखियाको चाकरी गर्ने कुप्रथाको रूपमा नभएर गौरा देवीको पूजा गर्ने माध्यमको रूपमा लिन सकियोस् । हालको समयमा गौरालाई एउटा गाउँको व्यक्तिको घरमा मात्र प्रतिस्थापित गरेर अप्रत्यक्ष रूपमा एउटा व्यक्तिको मान–सम्मान मात्र बढाउने कार्य भएकाले यसलाई समयानुकूल बनाई साझा गौरा मन्दिरको निर्माण गर्नुपर्ने हुन्छ । साथै गौराको पूजा गर्नु सबैको दायित्व हो भन्ने आभास सबैमा हुनुपर्ने जरुरी छ ।
प्रतिक्रिया