ताजा अपडेट
हड्डीसम्बन्धी क्यान्सर हेर्ने सुदूरका एक्ला सर्जन
गीता कुँवर अछाम
सुदूर पहाडका अधिकांश जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी वर्षौदेखि रिक्त छन् । विशेषज्ञ डाक्टरहरु त यहाँका लागि सपना जस्तै हुन् । आएकाहरु पनि दूर्गम भन्दै बस्न रुचाउँदैनन् ।
तर डाक्टर मन्दिप पाठक विगत ५ वर्षदेखि यही सुदूरमा बसेर भाँचिएका हाडजोर्नी जोड्नमै व्यस्त छन् । धेरैजसोले दुर्गम बस्न नरुचाएका बेला उनी सुदूरका एक्ला सजर्न हुन् । सुदूर पहाडका अछामसहित बाजुरा, डोटी, बझाङ, बैतडी तथा कर्णालीका दैलेख, कालिकोट, हुम्ला र मुगु सम्मका जिल्लाका जनतालाई बयालपाटामा सेवा दिइरहेका डा. मन्दीप पाठक ।
उनले २०१७ मा मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिप गरेका छन् । न्याय हेल्थ नेपालसँग आवद्ध अर्थोपेडिक सर्जन डा. पाठकले २००९ मा काठमाडौं विश्वविधालयबाट एमबीबीएस सकेर २०१५ मा फिलिपिन्सबाट आफ्नो रेसिडेन्सी सकाएका थिए । नेपालमा हड्डीको क्यान्सरसम्बन्धी उपचार गर्ने ४ डाक्टरमध्ये दोस्रोमा पर्छन मदिप पाठक ।
उनी अछाममा मात्रै बिरामीको उपचार गर्दैनन्, दोलखाका बिरामीको पनि उपचार गर्न भ्याउँछन् । ६ महिना अछाम र ६ महिना दोलखा बसेर हाडजोर्नीको सेवादिने गरेका डाक्टर पाठक दुर्गम भएकै कारण अछाममा बढी समय बसेर सेवा दिने गरेका छन् ।
उनले यो अवधिमा थुप्रै बिरामीको निशुल्क सफल हाडजोर्नीको शल्यक्रिया गरे । भाँचिएका हड्डी जोड्ने मात्र होइन उनी हड्डीको क्यान्सर सम्बन्धी पनि उपचार गर्छन् । नेपालमा हड्डीको क्यान्सर हेर्ने चारजना विषेशज्ञ डाक्टरमध्ये पाठक पनि एक हुन् ।
कोरोनाको कहरका बेला उनले बाजुराका एकजना महिलाको तीघ्राको हड्डीको क्यान्सरको समेत उपचार गरेर पठाएका छन् । उनले भने,’ हड्डीको मासु निकालेर फाल्न त सफल भयौं, तर उहाँले रेडियो थेरापीका लागि भरतपुर अस्पताल नै जानुपर्छ, हामीसँग त्यो स्रोत साधन नै छैन । उहाँहरु सायद जानुहुन्न होला,आर्थिक अवस्था कमजोर, फेरि उपचार महंगो पनि छ ।’
उपचार सम्भव तर स्रोत साधन नहुँदा आर्थिक अवस्था कमजोर भएका बिरामी रोग लिएर घर फर्किँदा भने निकै मन खिन्न हुने गरेको उनी बताउँछन् । उसो त न्याय हेल्थ नेपालद्वारा संचालित स्वास्थ्य संस्थामा सबै प्रकारका सेवा नि:शुल्क छन् तर पनि हाडजोर्नीका लागि आवश्यक पर्ने छुट्टै उपकरणको सहज उपलब्धता छैन तर पनि डाक्टर पाठक आफै विदेशी दातृनिकायसँग समन्वय गरेर भएपनि उपकरणको बन्दोबस्त गरी बिरामीलाई निशुल्क सेवा दिन्छन् ।
कहिलेकाँही त गरिब दु:खी बिरामीलाई बाहिर जान नसक्ने परिस्थितिमा डाक्टर पाठकले उपलब्ध उपकरण नहुँदा सापटी मागेर भए पनि उपचार गरिदिन्छन् । डाक्टर पाठक उपचारपछि घर फर्किएकाहरुलाई फोन गरेर समेत हालखबर बुझ्ने गर्छन् ।
काठमाडौं जस्तो सहरमा बसेका डाक्टर पाठकलाई दुर्गमका व्यवहारिक असुविधाले खासै फरक पारेन तर दुर्गममा बिरामीले सेवा नपाएको हेक्का भने मनमा सधैँ भइरहन्छ। बेलाबेला सेवा नपाएर फर्किएका बिरामीलाई सम्झेर दु:खी हुन्छन् उनी । नेपालमा शल्यक्रिया गर्ने डाक्टरको संख्या कम भएर पनि होला छिटफुट बाहेक सबै सर्जन सहर केन्द्रीत हुन्छन् ।
‘काठमाडौंजस्ता ठूलठूला सहरहरुमा बिरामीका लागि विकल्प धेरै छन्,’ उनी भन्छन्,’ मैले रेसिडेन्सी प्रशिक्षण पूरा गरिसकेपछि, म त्यस्तो ठाउँमा काम गर्न चाहन्थें जहाँ म आफ्नो सीपको प्रयोग गर्न सकू र अझ राम्रो प्रभाव बिरामी सामु छोड्न सकू ।’ नेपालका अर्थोपेडिक सर्जन डा। भास्करसँग सम्पर्कमा रहेकाले आफूलाई बायलपाटा अस्पताल र यसले नेपालको ग्रामीण ठाउँमा गरेको स्वास्थ्य सेवालगायत राम्रो कामको जान्ने अवसर मिलेसँगै संयोगवश यसै संस्थासँग आवद्ध हुने अवसर मिल्यो ।’
उनले सन् २०१६ देखि २०१९ सम्म दुर्गमका १० हजार ३ सय ४६ जनाको हाडजोर्नीको शल्यक्रिया गरेका छन् । अछाममा दोलखाभन्दा शल्यक्रियाको संख्या बढी छ । यहाँ हरेक महिना करिब ८० देखि १२० ठूला शल्यक्रियाहरू हुन्छन् भने दोलखामा २० देखि ३० शल्यक्रिया हुन्छन्,’ डा. पाठक भन्छन्, ‘हाम्रो दुबै अस्पतालमा ट्रमा सर्जरीको ठूलो आवश्यकता छ तर अछाम नजिक कुनै ठूलो अस्पताल छैन, यहाँ बिरामी संख्या बढी नै छ, त्यसकारण अछामका लागि हाडजोर्नीको सेवा अपरिहार्य जस्तै छ ।’
उनलाई सम्झना छ सुरुवातकै दिनमा एक महिलाको मिलमा चामल पिस्दा हातमा ठूलो चोट लागेको थियो। जसको आपतकालिन शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । जब उनी शल्यक्रियाका लागि गए ती महिला एक वर्षको नानीलाई दूध खुवाइरहेकी थिइन्। आफ्नो पीडामा पनि उनले बच्चाप्रति देखाएको माया देखेर डाक्टर पाठकको मन छोयो । अछाम जस्तो ठाउँमा मानिसहरूले –अझ महिलाले सामना गरिरहेका कठिनाइहरू महसुस गरें । उनी भन्छन्,’ यदि हामी नभएको भए उनले अर्को अर्थोपेडिक सर्जनलाई भेट्न मात्र १० देखि १२ घण्टासम्म यात्रा गर्नुपर्ने हुन्थ्यो र लाखौं खर्च गर्नु पथ्र्यो ।’
डोटीका एकजना पुरुष विगत २६ वर्षदेखि खुट्टा भाँचिएर आर्थिक अभावका कारण घरमै थन्किएका थिए । अहिले शल्यक्रियामार्फत निको भई घर फर्केका छन् । ‘मेरुदण्डको समस्या लिएर आएका बिरामीलाई साधनश्रोत भएको भए सजिलै उपचार गर्न सकिन्थ्यो तर सेवा दिन नसकी बाहिर पठाउन बाध्य हुँदा दु:ख महसुस हुन्छ,’ उनी भन्छन्।
यस्ता खालका बिरामीको उपचारका लागि स्थानीयदेखि प्रदेश सरकारले आर्थोपेडिक सर्जरीलाई बढुवा दिनुपर्ने उनको भनाइ छ। भौगोलिक आधारमा रणनैतिक कार्ययोजना बनाइ अस्पतालहरुको पहिचान गरी ट्रमाको सेवा दिने खालको वातावरण तयार पार्नु पर्दछ ।
सहरमा निजि अस्पताल त छन् तर गरिबी आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सरकारी वा सार्वजनिक अस्पताल तथा सुदूरपश्चिम प्रदेशमा दीर्घकालिनरुपमा ट्रमाका अस्पताल आवश्यकता रहेको उनको बुझाइ छ।
बयालपाटा अस्पतलालाई यस प्रदेशको भरपर्दो ट्रमा तथा अर्थोपेडिकको केन्द्रका रुपमा स्थापित गर्ने चाहना उनमा छ । डाक्टर पाठक भन्छन्,’ गेटा वा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ष्ठिानसँग समन्वय गरेर २४ घण्टै अर्थोपेडिक सेवा बनाउने मन छ ।’
यस क्षेत्रका जनता, समाजसेवी, राजनीतिक दल तथा सरकारको सहयोग रहे बयालपाटामा अर्थोपेडिकसँगै स्पाइन सर्जरी, स्पोर्ट सर्जरी तथा बाल शल्यक्रिया पनि संचालन गर्न सकिन्छ । शल्यक्रियाको सेवा सुलभ, उत्तरदायी, भरपर्दो र प्रभावकारी तथा दीर्घकालिन बनाउन अन्र्तराष्ट्रिय संघसंस्थासँग मिलेर भएपनि बयालपाटालाई ट्रमाको अनुसन्धान केन्द्रका रुपमा विकसित गर्नुपर्छ,’ पाठकले भने।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन
-
प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री राणा चीन जाने
-
हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ
-
एक विज्ञप्ति जारी गर्दै बालेन र हर्कलाई गरे मुकुलले आह्वान
-
गोदावरीमा सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
प्रतिक्रिया