ताजा अपडेट
पसलमै बसेर दिन बिताउँछन् भारतबाट फर्केकाहरु
मेनुका ढुंगाना (अछाम)
भारतबाट कोरोना भाइरसको संक्रमणबाट जोगिन अधिकांस पुरुषहरु घर फर्किएका छन् । ६ महिना लामो समयसम्म घरमै बसेका बेरोजगार हुँदा यहाँका धेरै व्यक्तीको दैनिकी कष्टकर बन्दै गएको छ । आर्थिक , सामाजिक अवस्था पनि खस्किएको छ । घरमै बसेर कुनै काम गर्ने वातावरण नपाउँदा धेरैजसो समय चिया पसलमै बित्ने गरेको ढकारी गाउँपालिका –४ का रतन बहादुर साउद बताउँछन् । ‘गाउँघरमा काम गरौं भनेपनि केहि छैन । यसो पसलतिर पस्यो । गाउघरका नयाँ पुराना साथिभाइ गाउँ आएका छन् । भेटघाट हुन्छ । आजभोलीका दिन यसरी बितेका छन् ।’ उनले भने ‘घरमै बसेर भुलिने उपाय भएको भए यसरी पसलमा आएर बसिदैन थियो । बरालिएर हिंड्नु परेको छ ।’
भारतकै भरोसाले घरपरिवार धानेका धेरै घरमूली यतिखेर गाउँमै थन्किन परेको मंगलसैन नगरपालिका –१४ का रुपक परियार बताउछन् । ‘भारत नगएपछि गाउँमै बसेर के गर्ने भनेर कहिल्यै सोचिएन । घर गयो , पसलमा आयो । साथिभाइसँग कुरा गर्यो, यसैगरी समय बितिरहेको छ ।’ घरको सबै जिम्मेवारीमा आफैं भएकाले झन तनाव थपिएको उनी बताउँछन् । ‘पसलमै बसेर समय बिताउने रहर त हामीलाई पनि होइन । तर अन्त जाने ठाउँ पनि त छैन ।’
ढकारी गाउँपालिका –४ बलाताका मोहन साउद भारतमा कामको खोजिमा जान थालेको २१ वर्ष पुरा भयो । यो अवधिमा उनी वर्षमा एक÷दुइ पटक घर आउने र फेरी भारतमै जाने गर्थे । झण्डै दुइ दशक बढी भारतमा जा“दा पनि एउटै जागिरको टुंगो थिएन । कहिले होटेलमा काम गर्ने , कहिले गाडी धुने र कहिले सडक सफा गर्ने काम गर्थे । भारतमा कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिन थालेपछि गत चैत ७ गते उनी जसोतसो आफ्नो घर पुगे । ज्यान जोगाउन घर पुगेका मोहनको दैनिकी अहिले चिन्तै चिन्तामा बित्न थालेको छ । त्यहि चिन्ताबाट टाढा रहन उनी पनि अरुले जस्तै गाउँघरका पसलहरुको सहारा लिन्छन् । त्यतै बसेर गफगाफ गरेरै समय बिताउछन् ।
‘घर पुगेपछिको र्दुइ हप्तासम्म गहुँबाली भित्राउने काममा व्यस्त भएँ । लकडाउन अवधि छोटो भइहाल्ला नी जस्तो लाग्थ्यो । एक महिनाजती घरमा बसेर भारतमै फर्किने सोच बनाएको थिएँ ’ उनले भने ,‘खेतबारीको उब्जनीले एक महिना खान पुग्दैन । रोजीरोटी चल्ने भारतबाटै हो । अहिले दिनप्रतिदिन तनाव थपिन थालेको छ । दिन बिताउन मुस्किल हुन थाल्यो । यसरी पसलमै बस्नु रहर होइन । दुःख भुुल्नलाई हो ।’
भारतमा काम गर्न जाने मजदुरहरुको हरेक वर्ष मंसिरमा जाने , बैशाखमा फर्किने र साउन भदौमा फेरी जाने गरेको मंगलसेन नगरपालिका ५ का पुरन भाट बताउछन् । ‘रोजगारी केहि छैन । तर पनि परिवारका आवश्यक्ता पुरा गर्नैपर्छ । यसरी बरालिएर हिंड्दा कसरी परिवारको माग पुरा हुन्छ ’ उनी भन्छन् ,‘ आवश्यक्ता पुरा नभए तनाव हुन्छ । तनावले कलह निम्त्याउँछ । आफ्नै बारीमा काम गरेर खान पुग्ने भए भारत किन जान पथ्र्यो
मंगलसेन नगरपालिका –३ का बेदराज विष्ट चैत १० गते हतारमै भारतबाट आए । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि उनी आत्तिएर घर पुगे । लुगा , कपडा पनि ल्याउन पाएनन् । जसोतसो घर पुगे । थोरै जमिनमा गहँ बाली थियो । दुइ दिनमा त्यो काम पनि सके । अहिले लक्ष्मण फुर्सदिला भएसँगै तनामा छन् । गाउँमा अरु काम नै पाएका छैनन् । ‘खेतबारी भए पनि त्यहि खनेर दिन बिताउन सजिलो हुन्थ्यो । अहिले साह्रै तनाव भएको छ ’ उनले भने,‘बाउबाजेले भारतमै गएर गुजारा चलाए । म पनि उतै गएँ । अब के गर्ने भन्ने तनावले सताएको छ ।’
(यो लेख नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल इन्जाको सहयोगमा तयार पारिएको हो ।)
प्रतिक्रिया