ताजा अपडेट
ढल्यो साहित्यको एक युग
फूलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला हे दाजै यो जिन्दगानीमा...।
नातिकाजीको संगीतमा तारादेवीले गाएको गीत झैं गीतकार माधवप्रसाद घिमिरेसँग अब भेट नहुने भएको छ। पाँच दिनेदेखि स्वास्थ्यमा समस्या बढ्दै गएपछि राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ। लमजुङको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका उनको १०१ वर्षको उमेरमा निधन भएको हो। मानार्थ रथि सम्मान दिएको नेपाली सेनाले काठमाडौं लैनचौरस्थित अलकाबस्ती निवासमा सुरक्षा दिएको छ भने बुधबार राष्ट्रिय सम्मानसहित सलामी अर्पण गर्ने भएको छ।
छोरी डा. किरण रेग्मीले उमेरकै कारण हुने श्वासप्रश्वास समस्याले बुबाको निधन भएको बताइन्। उनका अनुसार राष्ट्रकविको बोल्दाबोल्दै जस्तो निधन भएको थियो। करिब ३० वटा कृतिका धनी राष्ट्रकविले अन्तिम समयमा महाकाव्य ‘ऋतम्भरा’ लेखिरहेका थिए। उनको यो महाकाव्य प्रकाशन गर्ने धोको अधुरो भएको छ।
‘मलाई चित्त बुझेको छैन, केही सर्ग मिलाउँछु भन्नुहुन्थ्यो, लेखेर सक्नुभएको थियो’, ज्वाइँ प्राध्यापक डा. हेमांगराज अधिकारीले अन्नपूर्णसँग भने, ‘कम्तिमा सय वर्ष नाघे पनि आफ्नो सपना पूरा गर्न भ्याउनुभयो। नेपाली साहित्यलाई ठूलो उपहार दिएर जानुभयो।’ उनका गौरी, पापिनी आमा, राजराजेश्वरी, राष्ट्रनिर्मार्ता, धरती माता आदि खण्डकाव्य र मालतीमंगले जस्ता गीतिनाटक चर्चित छन्। ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे...’, ‘आएर कैल्यै ऋतु सिद्धिँदैन, लाएर माया मुटु रित्तिँदैन...’, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल...’ राष्ट्रकविका दर्जनौं कालजयी गीत र कविता जनमानसमा लोकप्रिय छन्। सुनपंखी चरीलगायत बालसाहित्यका चारवटा पुस्तक छन्। राष्ट्रकवि घिमिरेका पत्नी महाकाली, ६ छोरी र २ छोरा ६ छन्। ८४ वर्षीय महाकाली बुधबार ८५ वर्ष टेक्दै छिन्।
पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिका सामूमा कहिल्यै हामी झुकेथ्यौं...। राष्ट्रिय स्वाभिमानमा शब्दमार्फत कहिल्यै नझुक्ने राष्ट्रकविको राष्ट्रिय प्रेमको बखान सबैजसो समालोचकले गरिरहेकै हुन्छन्।
‘बिलो लिए झैं शरमा उनेर, यो राज्य बाँड्ने चिज हैन हेर।
थुतिन्छ पत्ता जब खात खात, सिद्धिन्छ शोभा अनि फूलबाट...।’
देशप्रेममा डुबेका उनका यस्तै गीतबारे प्राध्यापक डा. माधवप्रसाद पोखरेल भन्छन्, ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली... बोलको गीतले राष्ट्रियताको सर्वोच्च बहस गरेको छ।’ एउटा सिर्जना गर्न कति समय लाग्छ भनेर सोधेको जवाफमा राष्ट्रकविले पोखरेललाई भनेका थिए, ‘कुनै कविता लेख्न १० वर्षसम्म लागेको थियो।’ पोखरेलका अनुसार, यो गीतमा नेपाली चरोले ज्योतिको पंख उचाली गीत गाउँछ भन्नुमा गहिरो कल्पना छ। लोकसामग्री समेटेर चिन्तन र आफ्नै आँखाबाट दृष्टि लगाएर लेख्ने बानीले हरेक सिर्जना पृथक भएको उनको भनाइ छ। उनका अनुसार, राष्ट्रकविको नेपाली साहित्यको क्षेत्र कविता भएको तर ‘आफ्नो गीत आफ्नै बाँसुरी’ नामको आत्मकथा र मालतीमंगलेमा काव्यात्मकता र कवित्वसँगै ठूलो शक्ति छ।
प्राध्यापक डा. गोविन्दराज भट्टराईले महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली साहित्यका ‘तीन तारा’ भनिएको बताए। उनले भने, ‘आधुनिक नेपाली कविताका एक सुदृढ स्तम्भ, लोकगीति र शास्त्रीय छन्दलाई नेपालीमा स्थापित गर्ने उहाँ सुललीत भाकाका परिष्कृत कवि हुनुहुन्छ।’ उनले पनि राष्ट्रकविका अनेक अतुलनीय योगदानमध्ये एक राष्ट्रिय चेतना भएको तर्क गरे। आफूले कक्षा २ देखि अर्थात् ५० वर्षदेखि राष्ट्रकविका सिर्जना पढ्दै आएको र करोडौं नेपालीका जातीय ढुकढुकीका रुपमा बस्न सफल साहित्यकार भएको उनको भनाइ छ। उनी भन्छन्, ‘अहिले सीमा विवाद पनि हटकेक भएकै विषय हो, राष्ट्रकविले लेखेको नेपाली हामी रहँुला कहाँ नेपालै नरहे बोलको गीत चल्यो पनि, चलिरहने छ र मैले बारम्बार गुन्गुनाउने पनि यही गीत हो।’
प्राध्यापक डा. अभि सुवेदीले राष्ट्रकवि घिमिरे महाकवि देवकोटा र बालकृष्ण समका समकालीन रहेको अर्थमा शास्त्रीय कालबाट स्वतन्त्र भएको लेखन र चिन्तनको युगका एक महत्वपूर्ण कवि भएको बताए। ‘उनका कवितामा यो देशको भूमि, उत्तुंग हिमाल, बेंसी, नदी र वनउपवन, पूmल र पाखा अनि पखेराको सुन्दर चित्रण हुन्छ’, उनले अन्नपूर्णसँग भने, ‘घिमिरेले मानव करुणा, दुःख, आल्हाद र उमंगले भरिएका कविता लेखेका छन्। अत्यन्त सफल बाल कविता र गीतका लेखक पनि हुन्।’ अत्यन्त राम्रा गीतका लेखक उनले अनेकौं किसिमले लयवद्ध भएर नेपालका प्रसिद्ध गायक गायिकाहरूलाई स्रोत दिएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले राष्ट्रकवि २०४६ सालमा कुलपति भएको र त्यसबेला उहाँले नेपाली साहित्यका लागि अतुलनीय योगदान पुर्याएको स्मरण गरे। उहाँको निधनले नेपाल राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताउँदै साहित्यकारले अबका दिनमा उहाँका आदर्श अनुशरण गर्नुपर्ने उप्रेतीले बताए। प्राज्ञ माया ठकुरीले राष्ट्रकविको मृत्युले नेपाली साहित्यको अभिभावक गुमाएको बताइन्। उनले भनिन्, ‘खुलस्त भएर बोल्ने, सबैलाई आफ्नो बनाउन सक्ने र अभिमानको अंश पनि नपाल्ने उहाँको बानी थियो। संभवत नेपाल राष्ट्रले अब अर्को राष्ट्रकवि जन्माउनण् नसक्ला। यो निधन त युगकै निधन हो।’
समालोचक डा. रामप्रसाद ज्ञवालीले राष्ट्रकविको शरीरमात्र अन्त्य भएको तर कृतिमार्फत सधैं जीवन्त रहने बताए। नेपाली छन्द कवितालाई महाकवि देवकोटापछि जनमानसमा पुर्याउने कवि घिमिरे भएको बताए। उनले भने, ‘छन्दमा वर्तमान समयका सर्वोच्च कवि हुनुहुन्छ उहाँ। स्वच्छन्दता र परिष्कारवादका नेपाली संश्लेषक उहाँले नेपाली, हिन्दी, संस्कृति र नेपाली प्रकृतिका साथै नेपाली परम्परित जीवन पद्दतिलाई कवितामा जीवन दिने र प्रभावकारी अभिव्यक्ति दिने काम गर्नुभयो।’ उनका अनुसार, राणाकालदेखि पञ्चायतहुँदै संघीय गणतन्त्रसम्मका पाँच युग बाँचेको र प्रत्येक युगमा केन्द्रीय प्रतिभाका रुपमा नाम लेखाउने कवि राष्ट्रकवि नै हुन्। सकारात्मक सोच, स्वस्थ जीवन, अनवरत सिर्जनशीलता, स्वच्छन्दतावादी मानवतावाद र दीर्घ जीवनजस्ता विशेषता सबैले अंगीकार गर्नुपर्ने उनको भनाइ छ। ‘जिन्दगी रहेसम्म जिन्दगी छर्नुपर्छ, मरिन्छ मर्नु नै पर्छ नमरी मर्नुपर्छ। युगले जन्मने मान्छे युगभित्रै बिलाउँछन्, युग जन्माउने मान्छे युगौं सम्मान पाउँछन्’, उनले राष्ट्रकविका नाममा लेखेका छन्।
‘काव्यमा उहाँको आफ्नै शैली’
- सत्यमोहन जोशी,संस्कृतिविद्
उमेरले उहाँ (राष्ट्रकवि माधवप्रसाद घिमिरे) मभन्दा ६ महिना जेठो हुनुहुन्थ्यो। उहाँ १०१ वर्षमा स्वर्गवास हुनुभयो। मैले १०१ टेकें। मृत्यु प्रकृतिको आउनेजाने नियमित प्रक्रिया हो। उहाँ जानुभयो। म मृत्यु पर्खेर बसिरहेको छु।
म १९९८–१९९९ सालतिर त्रिचन्द्र कलेजमा आट्र्सको विद्यार्थी भएर गएको थिएँ। उहाँ त्यसबेला भाषा अनुवादकका रूपमा काम गर्नुहुन्थ्यो। त्रिचन्द्रको साइन्स ब्लकको नयाँ भवनमा भाषा अनुवाद परिषद् थियो। त्यसका हाकिम पुष्करशमशेर जबरा हुनुहुन्थ्यो। उहाँअन्तर्गत लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे र बद्रीनाथ भट्टराई मुख्य अनुवाद हस्तीका रूपमा काम गर्नुहुन्थ्यो।
म फुर्सदिलो थिएँ। विद्यार्थीका रूपमा कविता तथा साहित्यिक रचना लेख्थें। उहाँलाई देखाउँथें। उहाँ लेख्नलाई अझै प्रेरणा दिनुहुन्थ्यो। मैले लेखेका कविताहरू हेरिदिनुहुन्थ्यो। म पछि कामको सिलसिलामा लमजुङ गएँ। उहाँको घर पनि उतै रहेछ। मैले
उहाँको ठाउँमा काम गरेको थाहा पाएर झन् खुसी हुनुभयो। उहाँकै जन्मथलोमा काम गरेपछि म उहाँको प्यारो भएँ। उहाँसँग अझै धेरै हेलमेल बढ्यो। मेरो रुचिको विषय लोकसाहित्य थियो। उहाँले मेरो रुचिमा अझै हौसला बढाइदिनुहुन्थ्यो।
उहाँ २०२६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) मा प्राज्ञ नियुक्त हुनुभयो। मैले त्यो बेला सहप्राज्ञ भएर सँगैसँगै काम गर्ने अवसर पाएँ। उहाँ मभन्दा एक तह माथि हुनुहुन्थ्यो। काम गर्दा एकदम मिलनसार, सहयोगी हुनुहुन्थ्यो। प्रज्ञामा मेरो कार्यकाल सकिएपछि म त्यहाँबाट छुटें। उहाँ उपकुलपति हुँदै कुलपति बन्नुभयो।
त्यहाँबाट छुटेपछि मैले ‘नेपाली चाडबाड’ किताब निकालें। नेपाली संस्कृतिबारे लेखिएको किताबबारे गजबको भूमिका लेखिदिनुभयो। त्यसपछि हाम्रो सम्बन्ध निरन्तर सुमधुर रहिरह्यो।
नेपाली काव्यकृतिमा उहाँको आफ्नै शैली छ। आफ्नै परम्परा छ। उहाँको लेखाइ सरल हुन्छ। तर, नयाँ कुरा दिनुहुन्छ। त्यसैले उहाँका कृतिहरू उत्कृष्ट भएका हुन्।
व्यक्तिगत रूपमा ज्यादै मिलनसार, सामाजिक व्यवहार, चालचलन एकदमै राम्रो थियो। सधैं हँसिलो देखिने। कसैको चित्त नदुखाउने उहाँको बानी थियो। अरूसँग नरिसाउने। प्रेरणाको स्रोत हुनुहुन्थ्यो। उहाँ जो कोहीलाई अध्ययन, लेखनमा उत्प्रेरित गर्नुहुन्थ्यो।
नेपाली साहित्य टुहुरो भयो
-बैरागी काइँला
पूर्वकुलपति, नेपाल प्रज्ञा–प्रतिष्ठान
नेपाली साहित्य जगत्मा कवि माधवप्रसाद घिमिरेले पुर्याउनुभएको योगदानको कदर गर्दै राष्ट्रले उहाँलाई राष्ट्रकविको उपाधि प्रदान गर्यो। उहाँलाई राष्ट्रकविको पद औपचारिक रूपमा राज्यले दिएको मात्र होइन, सबै साहित्यकार र साहित्यप्रेमीले पनि उहाँलाई राष्ट्रकविका रूपमा स्विकारेका छन्। मर्यादित स्थानमा राख्दै आएका छन्। उहाँको देहावसानले राष्ट्रकै लागि एउटा अपूरणीय क्षति पुगेको छ। यसलाई पुर्न बहुतै गाह्रो पर्छ। नेपाली साहित्यको क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। एकप्रकार नेपाली साहित्य टुहुरो भएको छ।
नेपाली साहित्य, नेपाली समाज, नेपाल राष्ट्र र राज्यले उहाँलाई सम्मान गरेकै हो। जीवनकालमा यति ठूलो सम्मान न महाकविले पाए न त कवि शिरोमणिले। उहाँ (घिमिरे) बडो भाग्यमानी। सबै सम्मान जीवनकालमा पाउनुभयो। जीवनकालमा यत्रो सम्मान भोग गर्न पाउने भाग्य हत्तपत्त कसैको हुँदैन।
उहाँले सरल भाषामा अत्यन्तै गम्भीर र मर्मस्पर्शी कविता लेख्नुभयो। जुनसुकै छन्दमा पनि उहाँका कविता निकै मार्मिक छन्। तर, उहाँबारे एउटा नखुलेको पाटो रहेछ। उहाँका बारेमा अबका दिनमा सूक्ष्म अध्ययन गर्नेले त्यो लेख्लान्।
एकेडेमी (नेपाल प्रज्ञा–प्रतिष्ठान)बाट प्रकाशित पुस्तकहरूमा राष्ट्रकवि घिमिरेले लेखेका भूमिकाहरू देख्दा उहाँको अध्ययनको गहिराइ, चिन्तनमनन् र दर्शनमा जो उच्च पहुँच देखिन्छ त्यसमा छलफल हुन अझै बाँकी छ। तर, कविताको क्षेत्रमा थोरै लेखेर पनि उहाँले जुन अपार लोकप्रियता कमाउनुभयो, त्यो हत्तपत्त कसैले पाउँदैन। बरु यसो भन्दा पनि हुन्छ कि माधवप्रसाद घिमिरेले नेपाली कवितालाई लोकप्रिय बनाउन ठूलो योगदान दिनुभयो।
मेरो उहाँसँग पहिलो भेट २०२० सालमा भएको हो। म त्यति बेला पहिलो पटक काठमाडौं आएको थिएँ। एक–डेढ महिना बसाइमा उहाँसँग भेट गर्ने अवसर जुर्यो। बडो रमाइलो स्वभावको हुनुहुन्थ्यो। बडो फर्सैलो लाग्यो। उहाँ छन्दमा बडो मजाले लेख्ने मान्छे, हामी गद्य कवितामा। र, पनि उहाँले हामीलाई प्रोत्साहन नै दिनुभयो। लेखनमा उत्साह र प्रेरणा दिनुभएको मलाई अझै सम्झना छ।
उहाँसँग भेटघाट र चिनजान भएको पनि झन्डै ५७ वर्ष भइसकेछ। त्यसअघि मैले उहाँले नै सम्पादन गर्नुभएको इन्द्रेणी पत्रिकामा उहाँका केही कविता पढेको थिएँ। ती कविता पढेपछि मलाई उहाँसँग भेट्ने लोभ जागेको थियो। त्यसअघि गौरी किताब देखेको मात्रै थिएँ।
हामीभन्दा उमेरले पाका समालोचक दाजुहरूले गौरीका बारेमा कुरा गरेको सुनेको थिएँ। त्यो शोककाव्य यति मर्मस्पर्शी रहेछ, धेरै पछि पढ्दा उहाँप्रति असीम श्रद्धा मात्र होइन, एउटा आत्मीयताको भाव जागेर आएको थियो। उहाँसँग साक्षात् भेट हुँदा त झन् खुसीको सीमै रहेन।
चाहे छन्दमा लेखून् या झ्याउरे भाखामा, उहाँका कवितामा सरलताभित्र जुन गम्भीरता छ त्यसले मलाई मात्र होइन उहाँका असंख्य पाठकलाई तानेको छ। उहाँले पछिल्लो समय एउटा काव्य लेख्नुभयो, त्यो हो अश्वत्थामा। काव्य सानो छ। तर, अत्यन्तै गहन छ। त्यसमा आधारचाहिँ महाभारतको एउटा पात्रलाई बनाइएको छ। तर, स्थिति र परिस्थितिचाहिँ समकालीन विश्वको युद्ध, यसको विभीषिका र दुस्परिणाम छ। सम्पूर्ण जातिले सम्हार गर्न सक्ने एउटा अवस्थाको कारक तत्व मानिस पनि हुन सक्ने रहेछ। यो देख्दा एउटा ऋषितुल्य दार्शनिक पनि मैले उहाँमा भेटें। तापनि, सबैभन्दा ठूलो कुरा उहाँको सरलता नै हो। पानीजस्तो सरलता। खुलुलु बग्ने। सबैले मन पराएको। अनि, सबैले आदर्श मानेको। सबैले माया गरेको। त्यही रूपमा म पनि उहाँलाई स्मरण गर्छु।
उहाँका कृतिहरूमध्ये मलाई असाध्यै मन परेका गौरी र अश्वत्थामा हुन्। प्रेम कुन हदसम्म कोमल र गहिरो हुन्छ भन्ने गौरीबाटै सिकिँदो रहेछ। एउटा प्रेमीले प्रेमिकासँगको वियोगमा पर्दा मनमा परेको वेदना र त्यो वेदनाले जन्म दिएको एउटा दार्शनिक चिन्तनका कुराहरू गौरीमा मैले पाएँ। ती कुराले सबैलाई बडो विह्वल बनाउँछ। म २०३९ सालमा एकपटक काठमाडौं आएको थिएँ। तर, त्यति बेला मैले उहाँका नाटक हेर्न पाइनँ। अलिक पछि देखाइएको थियो क्यारे ! स्टेजमा चाहिँ मैले मालतीमंगले पनि हेर्न पाइनँ।
राष्ट्रकवि घिमिरेले २०४६ सालको जनआन्दोलनलाई मध्यनजर गर्दै कुलपतिबाट राजीनामा दिनुभयो। त्यति बेला उहाँलगायत १० जनाले राजीनामा दिएजस्तो लाग्छ। त्यसपछिको पुनर्गठनमा ईश्वर बराल उपकुलपति हुँदा म पनि सदस्य भएको थिएँ। उहाँ कुलपति भएका बेला पनि भेट त भएको थियो होला तर त्यति नजिकको कुराकानी भएको थिएन। म एकेडेमीमा कुलपति भइसकेपछि पनि नेपालका मास्टरपिस कृति एवं काव्यलाई नयाँ संस्करणमा ल्याउने भन्ने योजना बनाइएको थियो। यसलाई कार्यान्वयनमा ल्याउन नीति पनि बनिसकेको थियो। तर, ठूलो कुरा त अर्थको अभाव न हो। त्यसले चाहेर पनि धेरै गर्न सकिएन। मैले चाहेर पनि गर्न नसकेको एउटै कुरा छ। त्यसमा म अरू कसैलाई दोष दिन्नँ। कोसिस गरेर पनि गर्न नसकेकोमा म आफैंलाई दुःखी ठान्छु। एकेडेमीले पृथ्वी पुरस्कार उहाँहरूकै पालामा स्थापना गरेजस्तो लाग्छ। त्यो चाहिँ पूर्वकुलपति भइसकेकाहरूलाई दिने चलन रहेछ। त्यो पुरस्कारको लायक व्यक्ति उहाँ नै हुनुहुन्थ्यो। त्यसमा म सदस्य हुँदादेखि नै उहाँको नाम चर्चामा ल्याइएको थियो। मैले पनि कुरा उठाएँ। तर, २०४६ सालको जनआन्दोलनपछिको राजनीतिक वातावरणले साहित्यिक शुद्धतालाई नै फोहोरी बनाइदियो। जीवनमा पश्चात्तापभन्दा पनि विस्मात् लाग्ने कुरा एउटा यही छ।
कविजी बितेर जानुभयो। उहाँलाई कुनै पुरस्कारको आवश्यकता त थिएन। त्योभन्दा बढी सम्मान त उहाँले आमपाठकबाट मात्र होइन, आमजनताबाट नै पाइसक्नुभएको छ। त्योभन्दा अरू ठूलो पुरस्कार उहाँलाई कुनै चाहिएको पनि होइन। एउटा औपचारिक रूपमा गर्न सकेको भए राम्रो हुन्थ्यो। उहाँले धेरै लामो समय एकेडेमीमा बिताउनुभयो। भनौं जीवन नै त्यहाँ गुजार्नुभयो भन्दा पनि हुन्छ। एकेडेमीले चाहेर पनि उहाँलाई सम्मान गर्न सकेन। यसका लागि बडो पश्चात्ताप छ।
म एकेडेमीमा कुलपति भएर गइन्जेल त पुरस्कारको कुरै हराइसकेको थियो। २०४६ सालको आन्दोलनपछि त सबै पुरस्कार हराए। त्यसपछि पृथ्वी पुरस्कार कसैले पाएनन् होला। २०६२÷०६३ को आन्दोलनपछि बल्ल पुरस्कारको नाम खोतल्न थालियो। आन्दोलनकारीहरू सबै असन्तुष्ट रहेकाले दरबारका नाममा रहेका सबै प्रकारका पुरस्कार नै वितरण नगर्ने भन्दै एकेडेमीमा दबाब आएपछि ती सबै स्थगित भए। धेरै पछि त्रिभुवन पुरस्कार, महेन्द्र पुरस्कार र ईश्वरी राज्यलक्ष्मी पुरस्कार हटाइए। पृथ्वी पुरस्कार एउटा मात्र राख्ने भनेर एकेडेमीले निर्णय गर्यो। त्यसपछि ककसलाई दिइयो, मलाई त्यति याद छैन।
राष्ट्रकवि घिमिरेको घर मेरोबाट त्यति टाढा त होइन। ट्याक्सीमा गए १५ मिनेटमै पुगिन्छ। तर, काठमाडौंको यो घरैघरको बीचमा त्यति पनि टाढा हुँदो रहेछ। जाउँला–जाउँला भन्ने लागिरहेको थियो। त्यत्तिकै भयो। एक वर्षपहिले मलगायत केही साथीहरू उहाँलाई भेट्न गएका थियौं। त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘अब यस्तै हो, त्यो मेरो ऋतम्भराचाहिँ सिध्याउँछु।’ ऋतम्भरा महाकाव्यको चाहिँ उहाँलाई ठूलै चिन्ता थियो। त्यो सक्काउनुभयो कि भएन थाहा छैन।
उहाँको शताब्दी पूरा भएको जन्मोत्सव मनाएको भर्खरै जस्तो लाग्छ। आज अचानक राष्ट्रकविको देहान्तको खबर सुन्दा म निकै मर्माहत भएँ। ती आमैको के हालत भएको होला ? आमैलाई सम्झेर बडो दुःख लागिरहेको छ। पशुपतिनाथले आमालाई यो घडीमा दुःख सहने शक्ति प्रदान गरुन्। हाम्रो राष्ट्रकविको दिवंगत आत्माले स्वर्गमा बास पाओस्। उहाँका छोराछोरी, नाति, नातिना, पनाति, पनातिना सबैलाई यो दुःखको क्षण सहन सक्ने शक्ति भगवान् पशुपतिनाथले प्रदान गरुन्। यही मेरो प्रार्थना छ। अन्नपुर्ण पोष्ट
प्रतिक्रिया