किसानलाई ८९ करोड तिर्न बाँकी छ ७ चिनी उद्योगले, किसान भन्छन नगदमा सहमती नभएसम्म फर्किदैनौ
पछिल्लोपल्ट जनही ८ सय भाडा बुझाएर सर्लाहीबाट रात्रिबस चढेर शनिबार बिहानै काठमाडौं उत्रिएका उनीहरू आइतबार दिनभर आन्दोलित बने । आन्दोलित उखु किसानहरूले बोकेको ब्यानरले सबैलाई दैवज्ञराज न्यौपानेले लेखेको ‘किसानको रहर’ कविता सम्झाइदिएको थियो । घाँटीमा गम्छा भिरेका देहाती उखु किसानले बोकेको ब्यानरमा न्यौपानेकै कविताको संशोधित अंश थियो । लेखिएको थियो– सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश ठूलो छ सरकार, अटेन किसान ।